News / Activities


Our Latest Publications

Prashna-Tippani

कविजी वनारसतिर जानु भो रे !

   जुन दिन बुवा बाहिर निस्कन लाग्नुभयो सो पत्ता थियेन कि कहाँ जान लाग्नुभयो ? ५ बजिसकेको थियो जुन दिन मैले फर्सीको मन्टा र आलुको झोल र भात पकाई सकेको थियें, आमा र भाई पैसाको खोजमा गयेका थिये र आईपुग्नु भयो, म माथि थियें, बुवा निस्कन लाग्नु भयेछ, मैले माथिबाट भने “भात पाकिसक्यो कुर्न सक्तिन !” तव भाई र आमा मिलेर कति रोके पैले भान्चा गरुँ भनेर, केही लागेन । जोर नचल्दा चुप लाग्यौं । जुन दिन आषाढ निक्लन ७ दिन बाँकी थियो राती ११ बजेसम्म भात कुर्दा पत्ता भयेन, रात उसै गयो जस्को ४ दिनपछी थाहा पायौं “कविजी वनारसतिर जानु भोरे” जस्को पत्ता वहाँले दिनुभयेन ।
   नेपाली राष्ट्रीय काङ्ग्रेस जस्ले वहाँलाई यो प्रतिज्ञासाथ वनारस लियेर आयो त्यो काङ्ग्रेसको दुर्नामा आज धेरैले गायेकाछन् । चाहे तिनीहरू आफू परोपकारी संझुन “घरमा कमायेर ल्याउने १ मै थियें म वनारस तिर या कतैतिर गयें भने मेरा जहान वच्चा के गर्लान् ?” यो प्रस्नको जवाफ यो दिये जो “मैनाको डेडसय रुपीया दिन्छौं” जुन वचन काङ्ग्रेस धर्ममा विस्वास राखेर वहाँले नेपाल छोड्नुभयो तर आफसोच त्यो वचन आज वहाँलाई फाँसीको डोरी झैं लागिरहेछ, पछुताउ लागी रहेछ ।
– प्रकाश देव देवकोटा
(“संझना — मेरो जिवनी”बाट)

मैतीदेवीको दुइ तले घर 
   
   पैले वयान गरीसकें जुन रुपीञा हाम्रा लागी हात्तीको मुखमा जीरा सरी थियो तर घर किन्ने वखत समितिद्वारा (उस्मा किताव लेखेर दिएको हुनाले) १००० रु मेरो बुवाले पाउनु भएको थियो, येस्तै हिसाबले मैतीदेवीमा सं. २००० मा २ तले घर किन्यौं जस्को मोल ३७ सय थियो, तर उहि रकमले घरको लियो जस्मा २८ सयभन्दा बढी सबै रिनै हुन गयो जसको छटपटीमा आमानै हुनुहुन्थ्यो ।
   तर घर पनि उही ढङ्गको थियो जस्को कविता बुवाले युगवाणीमा “कविको घर” भनी दिनु भएको थियो ।
   मलाई पुरा आउँदैन जस्को टुकडा –
रातो ईंटको दुई तले घर केवल झिङटी छानो
उजार खेत भत्केको सिँंढी आँगनमा कुकुर कानो
आँगनमा कुकुरकानो
जुन घर जानलाई करीव २०० गज जति खेतको आली झैं अढाई हातको बाटो पथ्र्यो और फाँटमा थियो, वर्षामा तेहाको बाटोको कुरा थियेन दुवैतिर धान रोपेको हुन्थ्यो, और जुन बाटोमा पिंडौला गोलीगाँठातक हिलो रहन्थ्यो जस्मा दिउँसै हिड्न पनि आङ सरसराउँथ्यो, एक ठाउँमा त झन् गुहु र सिस्नुको भयानक वैतरणी तर्नु पथ्र्यो, आज सम्झन्छु जुन बाटोमा राती १० बजे दाजुभाई मिली सलाई कोरी कोरी २ माना चिउराको थैलो र २ पैसाको अदुवा जो दिउसोभरको भोकमा कैले घर आउँला भनेझैं गरी सुराल सेहारी सर्पा डरले कृष्ण कृष्ण जप्दै आई रहेथ्यौं ...”
– प्रकाश देव देवकोटा
(“संझना — मेरो जिवनी”बाट)
प्रश्न–टिप्पणी  अंक १ वैशाख २०७४  बाट

‘भवन’ कि ‘भनन’ ?

‘दोस्त कहाँ छन् ? साथ छ को को ? घर हो तिम्रो कुन देश ?
जान्छौ कुन पुर, भवन मुसाफिर ? ल्यायौ कुन सन्देश ?’
‘दोस्त मेरा शुभ उद्योगी, साथ छ साहस वेश ।
विश्व सबै घर, ह्दय–पुरीतिर ल्याउँछु सेवा सन्देश ।।’
   महाकवि देवकोटाको “वन” कविताको माथि उद्धृत अन्तिम चार हरफमा पाँचवटा प्रश्न र ती सबैका उत्तर एकपछि अर्को मिलेर आएका छन् । यसरी प्रश्न सोध्ने र तीनै प्रश्नका जवाफ पनि लगत्तै कवितामै दिने शैली नेपाली काव्य परंपरामा महाकविको विशेषता हो । 
   यसरी प्रश्नका उत्तर दिने सिलसिलामा चौथो प्रश्न र त्यसको उत्तरमा यौटा समस्या देखिएको छ । एकातिर अर्धविरामले छुट्टाएको “जान्छौ कुन पुर, भवन मुसाफिर ?” यौटै प्रश्न हो कि दुइवटा भन्न सजिलो छैन भने त्यसको जवाफ भने यौटै छ – “ह्दय–पुरीतिर ।” “जान्छौ कुन पुर ?” यौटा प्रश्न र “जान्छौ कुन भवन ?” अर्को प्रश्न भनेर बुझ्यो भने जवाफभन्दा प्रश्न धेरै बन्छन् ।
   यहाँ “भवन” मुद्रणको गल्ती भएको र हुनुपर्ने “भनन” हो भनेर मान्ने हो भने यस समस्याको समाधान तुरुन्तै भइहाल्छ । हुन पनि देवकोटाका अनेकौं कृतिमा मुद्रणका गल्ती धेरै भेटिन्छन् नै । त्यसैले यो हरफलाई “जान्छौ कुन पुर, भनन मुसाफिर ? ल्यायौ कुन सन्देश ?” भनेर पढ्दा अर्थपूर्ण हुने देखिन्छ । 
   त्यसैले “भवन” हैन, “भनन” ठीक पाठ हुनुपर्छ ।

– श्रीधर लोहनी
प्रश्न–टिप्पणी अंक १ वैशाख २०७४ बाट